अन्तर्राष्ट्रिय

इरानमा प्रदर्शन उग्र बन्दै, निर्वासित युवराजद्वारा आन्दोलनलाई समर्थन

- एजेन्सीकाठमाडौं

इरानमा प्रदर्शन उग्र बन्दै जाँदा त्यहाँका निर्वासित युवराज रेजा पहलवी आन्दोलनको समर्थन गर्नुभएको छ । सरकार विरोधी प्रदर्शन जारी रहेको अवस्थामा ५० वर्षको निर्वासनपछि युवराज पहलवी आन्दोलनको अग्रपंक्तीमा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।महँगीविरुद्ध सुरु भएको विरोध प्रदर्शनका क्रममा हाल सम्म ५० जनाको मृत्यु भइसकेको छ । 

प्रदर्शन चर्किएपछि राजधानी तेहरानसहित देशका प्रमुख सहरहरूमा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध गरिएको बताइएको छ । मूल्य वृद्धि र वेरोजगारी बढेपछि आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले राजतन्त्र पुनस्र्थापनाको माग समेत गरेको समाचारमा उल्लेख छ ।

 युवराज पहलवीका पीतालाई सन् १९७९ मा सत्ताबाट हटाइएको थियो । ६५ वर्षीय पहलवीले प्रदर्शनकारीलाई सडकमा उत्रन आह्वान गरेपछि आन्दोलन अझै हिंसात्मक बनेको बताइएको छ । यसैबीच, विरोधका क्रममा भएको झडपमा घाइतेहरुको संख्या बढेपछि त्यहाँका अस्पतालहरुको चाप बढेको बताइएको छ । चिकित्सकहरु र अस्पतालको अभावले उपचार सेवा लिन अधिकांश घाइतेहरु वञ्चित भएको बीबीसीले जनाएको छ ।