अन्तर्राष्ट्रिय

स्पेनमा सुरक्षाको माग गर्दै रेल चालकद्धारा देशव्यापी हड्तालको आव्हान

काठमाडौं

स्पेनका सबैभन्दा ठूला रेल चालकको संगठनले सुरक्षाको माग गर्दै देशव्यापी हड्तालको आह्वान गरेका छन् । हालै भएका लगातार रेल दुर्घटनामा कम्तीमा ४२ जनाको मृत्यु हुनुका साथै अर्को दुर्घटनामा एक रेल चालकको मृत्यु भएसँगै चालकहरुले हड्ताल आह्वान गरेका हुन् । 

रेल चालक युनियन सेमाफले विज्ञप्ति जारी गर्दै रेल पूर्वाधारको सुरक्षाको जिम्मेवारी लिएका निकायको कामजोरीका कारण दुर्घटना भएको पाइए उनीहरुलाई कारबाही गर्नुपर्ने बताएको छ । 

रेलमार्गमा खाल्डाखुल्डी, असन्तुलन तथा विद्युत् लाइनमा समस्या हुँदा बारम्बार प्राविधिक खराबी देखिने र रेलमा समस्या हुँदै आएको सो संस्थाले जनाएको छ । 

यसैबीच त्यहाँका यातायात मन्त्रीले भने पछिल्लो पटक भएका तीन मध्ये दुई दुर्घटना मौसमका कारण भएको भन्दै रेल ट्रयाकको अवस्थासँग प्रत्यक्ष सम्बन्ध नरहेकाले हड्ताल फिर्ता लिन चालकहरुलाई आग्रह गरेको छ ।