अन्तर्राष्ट्रिय

अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्ने सम्झौता हुन सक्ने ट्रम्पको दाबी

- एजेन्सीकाठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले छिट्टै ग्रीनल्याण्ड प्राप्त गर्ने सम्झौता गर्न सक्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा नेटोका नेताहरुसँग अर्थपूर्ण बैठक भएको र सो बैठकले ग्रीनल्याण्ड तथा आर्कटिकलाई समेट्ने सम्भावित सम्झौताको फ्रेमवर्कलाई साकार पार्न सक्ने वातापरण सिर्जना गर्न सक्ने बताउनुभएको छ ।

यदि सोचे अनुरुप भएमा यसले अमेरिका र नेटो मुलुक दुवैलाई फाइदा हुने राष्ट्रपति ट्रम्पको भनाइलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै राष्ट्रपति ट्रम्पले युरोपेली मुलुकमा १० प्रतिशत नयाँ भन्सार लगाउने योजना पनि खारेज भएको जानकारी दिनुभएको छ ।

यसअघि ट्रम्पले ग्रीनल्याण्ड लिने आफ्नो योजनाको विरुद्धमा उभिने युरोपेली मुलुकमा थप भन्सार लगाउने चेतावनी दिनुभएको थियो ।

ट्रम्पको त्यस्तो धम्कीपछि युरोपेली मुलुकले असन्तुष्टि भएको प्रतिक्रिया दिएका थिए ।

त्यसपछि हिजो स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको बैठकमा ट्रम्पले ग्रीनल्याण्डमा सैन्य बल प्रयोग नगर्ने तर अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण रहेको भन्दै सो क्षेत्रको स्वामित्व सुरक्षित गर्न तत्काल वार्ता गर्न चाहेको बताउनुभएको थियो ।