अन्तर्राष्ट्रिय

मलेसियाका सशस्त्र बलका पूर्व प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं

मलेसियाका सशस्त्र बलका पूर्व प्रमुखविरुद्ध चार वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । रक्षा सम्झौतामा भएको भ्रष्टाचारविरुद्ध सरकारले चालेको अभियान तीव्र भइरहेका बेला ५९ वर्षीय पूर्व प्रमुख मोहमद निजाम जाफर विरुद्ध मुद्दा दायर गरिएको हो । 

जाफरले सन् २०२४ मा सशस्त्र बल कल्याण कोषको कार्यकारी समितिका अध्यक्षको हैसियतमा आफ्नो पदको दुरुपयोग गर्दै चाडपर्वका लागि उपहार आपूर्तिसम्बन्धी ठेक्का दिने क्रममा झण्डै १ लाख १८ हजार अमेरिकी डलर आर्थिक लाभ लिएको आरोप छ । 

यस्तै सो कोषको लगानी समितिको स्वीकृति बिना करिब ६ लाख ४० हजार अमेरिकी डलर एक निजी कम्पनीमा लगानी गरेर आपराधिक विश्वासघात गरेको अभियोग जाफरमाथि लगाइएको छ । 

यद्यपि जाफरले ती अभियोगमा आफू निर्दोष रहेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जाफरमाथि लगाइएका अभियोग पुष्टि भएमा अधिकतम २० वर्षसम्म कैद सजाय तथा ठूलो रकमको जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको समाचारमा जनाइएको छ । 

पछिल्लो पटक मुद्दा दायर भएका घटना मलेसियाली सेनाको सबैभन्दा उच्च नेतृत्व तहसँग सम्बन्धी पहिलो भ्रष्टाचार मुद्दा भएको समाचार संस्था एपीले जनाएको छ ।