चीनसँग व्यापार सम्झौता गरेमा क्यानडालाई १ सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाका सामानमा एक सय प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो सोसल मिडियामा पोस्ट गर्दै चीनसँग सम्झौता गरेमा सबै क्यानेडेली सामानमा सय प्रतिशत भन्सार शुल्क लगाउने बताउनुभएको हो ।
यद्यपि, ट्रम्पले क्यानडा र चीनबीच भएको कुन सम्झौताको बारेमा चर्चा गर्नुभएको हो, सो बारेमा केही उल्लेख नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत हप्ता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग रणनीतिक साझेदारी घोषणा गर्दै भन्सार शुल्क घटाउन सहमति गर्नुभएको थियो । त्यसबेला ट्रम्पले क्यानडाको सो कदमलाई राम्रो भन्दै प्रतिक्रिया दिनुभएको थियो ।
तर हालैका दिनहरूमा अमेरिका र क्यानडाबीच तनाव बढेको छ । प्रधानमन्त्री कार्नीले डावोसको एक कार्यक्रममा भाषण गर्दै अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्था समाप्त भएको टिप्पणी गर्नुभएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी आएको हो ।