अन्तर्राष्ट्रिय

चीनमा भ्रष्टाचारसम्बन्धी खुलासा गरेका दुई जना पत्रकार पक्राउ

काठमाडौं

चीनमा भ्रष्टाचारसम्बन्धी प्रकरण बाहिर ल्याएका दुई जना पत्रकार पक्राउ परेका छन् । चीनको सिचुआन प्रान्तका एक वरिष्ठ अधिकारीको भ्रष्टाचार प्रकरण बाहिर ल्याएपछि दुई चिनियाँ खोज पत्रकारलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । स्वतन्त्र पत्रकार लिउ हु र वु यिङजियाओलाई अनुसन्धानमूलक रिपोर्ट सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको अधिकारवादी संस्थाले जनाएका छन् । 

पछिल्लो समय चीनमा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारमाध्यममाथि कडाइ गरिएको टिप्पणी हुँदै आएको छ । चेंग्दु प्रहरीका अनुसार उनीहरुमाथि झूटा आरोप लगाएका बारे अनुसन्धान भइरहेको जनाएको छ । लिउ हु चीनका चर्चित खोज पत्रकार हुन्। उनी सन् २०१३ मा पनि एक उच्च अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाएपछि मानहानीको अभियोगमा पक्राउ परेका थिए। 

२०१४ मा रिहा भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुसन्धान कार्य निरन्तर जारी राख्दै आएका थिए। वु यिङजियाओलाई लिउका सहकर्मीका रुपमा परिचित छन् । रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार हाल चीनमा १ सय २० भन्दा बढी पत्रकार हिरासतमा छन् ।