अन्तर्राष्ट्रिय

अमेरिका र क्यानडालाई जोड्ने नयाँ पुल सञ्चालन हुन नदिने ट्रम्पको चेतावनी

- एजेन्सीकाठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने नयाँ पुल सञ्चालन हुन नदिने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमा ट्रम्पले गोर्डी होवे अन्तर्राष्ट्रिय पुलको उद्घाटनको अनुमति नदिने बताउनुभएको हो । सो पुल क्यानडाको ओन्टारियो प्रान्त र अमेरिकाको मिशिगन राज्य जोड्ने महत्वपूर्ण पूर्वाधार परियोजना रुपमा मानिन्छ । 

क्यानडाले अमेरिकालाई पूर्ण रुपमा क्षतिपूर्ति नदिएसम्म पुल सञ्चालन हुन नदिने ट्रम्पले बताएको बीबीसीले जनाएको छ । ट्रम्पले अमेरिकालाई क्यानडाले आवश्यक सम्मान नदिएको आरोप लगाउनुभएको छ । पुलको निर्माण खर्च क्यानडा सरकारले व्यहोरेको भए पनि यसको स्वामित्व क्यानडा र मिशिगन दुवैको रहने बताइएको छ।

 सन् २०१८ मा सुरु भएको सो परियोजनाको लागत करिब ६ दशमलव ४ अर्ब क्यानाडियन डलर रहेको छ। मिशिगनकी सिनेटर एलिसा स्लॉटकिनले पुल नखुल्दा राज्यको अर्थतन्त्रमा गम्भीर असर पर्ने बताउनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सो विषयमा क्यानडा र अमेरिकाबीच कूटनीतिक तनाव बढ्न सक्ने टिप्पणी गरिएको छ ।