अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघको मस्यौदा फिर्ता लिन टापु राष्ट्रलाई अमेरिकाको आग्रह

काठमाडौं

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले साना टापु राष्ट्रलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको मस्यौदा प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । 

अमेरिकी विदेश मन्त्रालयले यस साता विश्वभरका आफ्ना दूतावास र वाणिज्य दूतावासहरूलाई पठाएको निर्देशनमा राष्ट्रसंघको प्रस्तावप्रति आपत्ति जनाएको छ । सो प्रस्ताव पारित भएमा अमेरिकी उद्योगहरुलाई असरपुग्नसक्ने ट्रम्प प्रशासनले दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

सो प्रस्तावतमा जलवायु परिवर्तन रोक्न पर्याप्त कदम नचाल्ने देशबाट क्षतिपूर्ति समेत असुल गर्न सकिने व्यवस्था गर्नुपर्ने उल्लेख छ । अमेरिकाले हालै जलवायु परिवर्तनसम्बन्धी आफ्ना पूर्व नीतिबाट पछि हट्ने कदम चालेको छ। 

यसअघि उसले हरितगृह ग्यास उत्सर्जन नियन्त्रणका लागि आधार मानिएको निष्कर्ष खारेज गरेको थियो । जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्दै जाँदा अस्तित्वसंकटमा परेको भन्दै भानुआटु जस्ता टापु राष्ट्रहरूले अन्तर्राष्ट्रिय समुदायसँग कडा कदम चाल्न आग्रह गर्दै आएका छन्।

प्रस्तावमाथि आगामी दिनहरुमा महासभामा थप छलफल हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।