अन्तर्राष्ट्रिय

बंगलादेशमा बीएनपी पार्टीका प्रमुख तरिक रहमान नयाँ प्रधानमन्त्रीमा नियुक्त

- एजेन्सीकाठमाडौं

बंगलादेशमा राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्ष तरिक रहमानले आज प्रधानमन्त्रीको सपथ लिनुभएको छ । बंगलादेशको संसद भवनको साउथ प्लाजामा राष्ट्रपति मोहम्मद शहाबुद्दीनले रहमानलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएको हो ।

 रहमानसँगै अन्य मन्त्रीहरुले समेत सपथ लिएका छन् । गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई–तिहाईभन्दा धेरै सिट जितेको थियो । बीएनपीले रहमानलाई संसदीय दलको नेता समेत चुनेको थियो । 

सन् २०२४ मा शेख हसीना नेतृत्वको सरकार पदच्युत भएपछि पहिलोपटक बनेको निर्वाचित सरकारको नेतृत्व रहमानले गर्नुहुने समाचार संस्था एपीले जनाएको छ । रहमान पाँच वर्षका लागि प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको समाचारमा उल्लेख छ । 

 रहमान ३५ वर्षपछि बंगलादेशका पहिलो पुरुष प्रधानमन्त्री बन्नुभएको हो । उहाँको सपथ समारोहमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, साउदी अरेबिया, टर्की, युएई, कतार, मलेसिया लगायत देशका प्रतिनिधि सहभागी भएका थिए ।