अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण

काठमाडौं

पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका आतङ्कवादीलाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ । पाकिस्तानले तहरीक–ए–तालिबान पाकिस्तान र सो समूहसँग सम्बद्ध रहेका एवं इस्लामिक स्टेटसँग सम्बन्धित समूहका सातवटा शिविरलाई लक्षित गर्दै आक्रमण गरेको हो । 

दुई देशबीच भएको युद्धविरामको सहमतिकाबीच आफगानीस्तानमा पाकिस्तानले पछिल्लो पटक आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले भने आफ्नो देशमा भएका आक्रमणको जवाफमा सो कारबाही गरिएको प्रतिक्रिया दिएको छ । 

केहिदिन अघि पाकिस्तानको इस्लामाबादस्थित एक मस्जिदमा भएको आत्मघाती विस्फोटमा दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो भने हिजो मात्रै उत्तर–पश्चिम क्षेत्रमा पर्ने खैबर पख्तूनख्वा क्षेत्रमा भएको आक्रमणमा दुई सैनिक मारिएपछि जवाफि कारबाही गरेको पाकिस्तानको दाबी छ ।

यसैबीच अफगानिस्तानको रक्षा मन्त्रालयले आक्रमणको पुष्टि गर्दै आक्रमणले आफ्नो देशको राष्ट्रिय सार्वभौमिकतामाथि खुला उल्लंघन भएको बताएको छ । पाकिस्तानले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अफगानीस्तानले अपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । पाकिस्तानले आत्मरक्षाका लागि कारबाही गरिएको दाबी गरेपनि अफगानिस्तानले भने आतङ्कवादीलाई आश्रय नदिएको बताउँदै आएको सीएनएनले जनाएको छ ।