अन्तर्राष्ट्रिय

पाकिस्तान र अफगानिस्तानको विवादले युद्धको रूप लियो

- एजेन्सीकाठमाडौं

पाकिस्तान र अफगानिस्तानबीचको सीमा विवादले युद्धको रूप लिएको छ ।

गएराति अफगानिस्तानको कुनार प्रान्तमा तालिवान लडाकुहरूले गरेको भीषण आक्रमणमा ५५ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरिएको छ ।

तालिवान पक्षको दाबी अनुसार मारिएकामध्ये २३ जना पाकिस्तानी सैनिकको शव उनीहरूकै नियन्त्रणमा रहेको छ ।

अफगान लडाकुहरूले पाकिस्तानी सेनाको एक मुख्यालय र १९ वटा सैन्य चौकीहरू कब्जा गरेको बताइएको छ ।

पाकिस्तानी सैनिकहरुबाट ठूलो मात्रामा हतियार नियन्त्रणमा लिइएको तालिबानीले दाबी गरेको छ ।

आक्रमण लगत्तै पाकिस्तानले जवाफी कारबाहीस्वरुप राजधानी काबुलसहितका सहरमा हवाई आक्रमण गरेको छ ।

पाकिस्तानी सूचना मन्त्री अताउल्लाह तरारले भिडियो सन्देश जारी गर्दै पाकिस्तानी वायुसेनाले तालिवानका कार्यालयमा बमबारी गरेको बताएका छन् ।

पाकिस्तानका कारबाहीमा अहिलेसम्म ७२ जना तालिवान लडाकु मारिएको दाबी गरिएको छ ।