अमेरिका र इजरायलद्धारा इरानमाथि संयुक्त सैन्य आक्रमण
काठमाडौंअमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको कार्यालय नजिकै पहिलो आक्रमणको घटना भएको हो । इरानी सञ्चारमाध्यमका अनुसार देशभर विभिन्न स्थानमा आक्रमण भएका छन् ।
इरानको दक्षिणी क्षेत्रमा पर्ने हर्मोजगान प्रान्तको एक विद्यालयमा भएको एक आक्रमणमा कम्तिमा ४५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । राजधानी तेहरानको आकाशमा धुवाँको मुस्लो देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै इरानमा सैन्य कारबाही गरेको बताएको समाचारमा उल्लेख छ ।
इरानले निरन्तर आफ्नो आणविक कार्यक्रम अघि बढाइरहेको तथा अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र विकास गर्ने योजना बनाइरहेको ट्रम्पको आरोप छ । ट्रम्पले इरानका नागरिकलाई सरकारविरुद्ध उत्रन सार्वजनिक रुपमा अपिल समेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त आक्रमणको उद्देश्य इरानबाट हुन सक्ने खतरालाई हटाउनु रहेको बताउनुभएको छ । यसैबीच इरानमा भएको आक्रमणलाई लिएर पाकिस्तानले आपत्ति जनाएको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयले सो आक्रमण अनुचित भएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।