अन्तर्राष्ट्रिय

अमेरिका–इजरायलको संयुक्त हमलामा इरानका सर्वोच्च नेता खामेनी मारिए

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको तेहरानमा गरेको संयुक्त हमलामा इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गर्नुभएको छ । सो समाचारको पुष्टि इरानको राष्ट्रिय मिडियाले गरेको छ । 

गएराती अमेरिका र इजरायलको संयुक्त आक्रमणका दौरान खामेनीको मृत्यु भएको हो । उनी मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ । त्यस्तै ७ दिनको सार्वजनिक विदा समेत घोषणा गरिएको बताइएको छ । 

अलजजिराकाअनुसार सो आक्रमणमा सर्वोच्च नेता खामेनीको ज्वाइँ र नाति समेत मारिएका छन् । राष्ट्रपति ट्रम्पले विज्ञप्ती जारी गर्दै खामेनीको मृत्यु इरानी र अमेरिकी जनता तथा विश्वभरको मानिसको लागि न्याय भएको दाबी गर्नुभएको छ । सर्वोच्च नेता खामेनीको मृत्युपछि पनि राष्ट्रपति ट्रम्पले इरानमा बमबारी जारी राख्ने र आफ्नो सत्ता फिर्ता लिने इरानी नागरिकको लागि ठूलो अवसर भएको बताउनुभएको छ । अमेरिका र इजरायलले हिजोदेखि इरानमा पुन संयुक्त आक्रमण सुरु गरेका हुन् । त्यसको जवाफी कारबाहीमा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य वेशमा आक्रमण गरेको थियो ।