परमाणु शक्तियुक्त विमानवाहक जहाजलाई बाल्टिक सागरबाट भूमध्यसागरमा सार्न आदेश
मध्यपूर्वमा जारी तनावलाई मध्यनजर गर्दै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सको परमाणु शक्तियुक्त विमानवाहक जहाजलाई बाल्टिक सागरबाट भूमध्यसागरमा सार्न आदेश दिनुभएको छ । राष्ट्रपति म्याक्रोनले आफ्नो सो कदमले मध्यपूर्वमा युद्धको समयमा मित्र राष्ट्रहरूको सम्पत्तिलाई बचाउन मद्दत पुग्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सेली टेलिभिजनमा पूर्व रेकर्ड गरिएको सम्बोधनको क्रममा म्याक्रोनले राफेल लडाकू जेट, वायु रक्षा प्रणाली र हवाई राडार प्रणाली विगत केही घण्टादेखि मध्यपूर्वमा तैनाथ गरिएको जानकारी दिनुभएको छ । शनिबारदेखि अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हमला गरिरहेको छ । जवाफमा तेहरानले अमेरिकी सैन्य अड्डा भएका मध्यपूर्वका केही मुलुकहरुमा आक्रमण गरेको छ । यसअघि, युरोपेली मुलुक फ्रान्स, बेलायत र जर्मनीले अमेरिका र इजरायलले सुरु गरेको युद्धमा संलग्न नभएको बताएका थिए । यद्यपि, इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमतालाई नष्ट गर्न रक्षात्मक कदम चाल्ने उनीहरुको भनाइ थियो ।