अन्तर्राष्ट्रिय

लेबनानको संसदको कार्यकाल दुई वर्ष बढाउने निर्णय

काठमाडौं

मध्यपूर्वमा बढ्दो युद्धको तनावबीच लेबनानको संसदले आफ्नो कार्यकाल दुई वर्षका लागि बढाउने निर्णय गरेको छ । यससँगै यस वर्ष मे महिनामा हुने भनिएको संसदीय चुनाव स्थगित भएको छ। 

संसदका सभामुख नविह बेरीको कार्यालयले जारी गरेको वक्तव्यअनुसार १ सय २८ सदस्यीय संसदका ७६ सांसदले कार्यकाल विस्तारको पक्षमा मतदान गरेका थिए । 

सशस्त्र समूह हिज्बुल्लाहले इजरेल तर्फ रकेट र ड्रोन आक्रमण गरेपछि लेबनान समेत क्षेत्रीय युद्धमा फसेको बताइएको छ । त्यसयता, इजरायलले लेबनानको राजधानी बेरुत सहित विभिन्न क्षेत्रमा तीव्र हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

लेबनानमा पछिल्लो पटक संसदीय चुनाव सन् २०२२ मा भएको थियो। सुरक्षा अवस्था बिग्रँदै गएको अवस्थामा संसदको कार्यकाल बढाउने विषय यसअघि पनि छलफल भएको बताइएको छ ।