रुसी तेल खरिद गर्न अमेरिकाको ३० दिने अनुमति
काठमाडौंअमेरिकाले समुद्रमा अड्किएको रुसी तेल तथा पेट्रोलियम पदार्थ खरिद गर्न विभिन्न देशहरुलाइ अस्थायी रुपमा ३० दिनको अनुमति दिएको छ। सोे निर्णय मध्यपूर्वमा भएको युद्धका कारण विश्व ऊर्जा बजारमा आएको अस्थिरता कम गर्न गरिएको बताइएको छ ।
अमेरिकी अधिकारी स्कट बेसेन्टका अनुसार सो अनुमति सीमित समयका लागि मात्र दिइएको बताउनुभएको बीबीसीले जनाएको छ । सो अनुमति अनुसार मार्च १२ सम्म जहाजमा लोड भइसकेका रुसी कच्चा तेल तथा पेट्रोलियम पदार्थ बिक्री गर्न पाइने समाचारमा उल्लेख छ ।
सो व्यवस्था आगामी अप्रिल ११ सम्म लागू रहने बताइएको छ ।यसअघि अमेरिकाले मार्च ५ मा भारतलाई मात्र लक्षित गर्दै समुद्रमा अड्किएको रुसी तेल खरिद गर्ने ३० दिने छुट दिएको थियो।मध्यपूर्वमा इरानसँगको युद्धका कारण विश्वभर तेल आपूर्तिमा अवरोध आएको छ।
हाल करिब १ सय २४ मिलियन ब्यारेल रुसी तेल विश्वका करिब ३० स्थानमा समुद्रमै अड्किएको बताइएको छ। उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिका र इजरायलले आक्रमण नरोकिए खाडी क्षेत्रबाट हुने तेल ढुवानी रोक्ने चेतावनी दिएको छ ।