अन्तर्राष्ट्रिय

भारतको जनगणना सुरु हुँदै

काठमाडौं

भारतले भोलिदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान सुरु गर्ने भएको छ । करिब ३० लाखभन्दा बढी सरकारी कर्मचारी सहभागी हुने सो विशाल जनगणना कार्यक्रम एक वर्षसम्म सञ्चालन हुने बताइएको छ । 

भारत सरकारले करिब १ दशमलव २४ अर्ब डलर लागतको जनगणना कार्यक्रमलाई राष्ट्रिय महत्वको विशाल अभियान भन्दै समावेशी शासन र तथ्यमा आधारित नीति निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

यस पटकको जनगणनामा घरदैलोमै पुगेर तथ्यांक संकलन गरिनुका साथै अनलाइनमार्फत गणना गर्ने सुविधा पनि उपलब्ध गराइने जनाइएको छ । स्याटेलाइट तथ्यांकमा आधारित एक विशेष एप प्रयोग गरि १६ भाषामा उपलब्ध हुन बताइएको छ । 

जनगणना दुई चरणमा सञ्चालन गरिनेछ । पहिलो चरण भोलिदेखि सुरु भई सेप्टेम्बर महिनासम्म चल्नेछ । दोस्रो चरणमा जनसंख्या, सामाजिक, आर्थिक तथा जनसांख्यिकीय विवरणहरू संकलन गरिने समाचारमा उल्लेख छ । 

भारतमा सन् २०११ पछि जनगणना गरिएको छैन। सन् २०२१ मा हुने तय भएको जनगणना कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो।