अन्तर्राष्ट्रिय

पश्चिम बंगालमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत आज मतदान हुँदै

- एजेन्सीकाठमाडौं

पश्चिम बंगालमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत आज मतदान हुँदैछ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहनेछ । पहिलो चरणमा दार्जिलिङ सहित १६ जिल्लाका १ सय ५२ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

 जसमा दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी, अलीपुरद्वार, कूचबिहार, उत्तर र दक्षिण दिनाजपुर, माल्दा, मुर्शिदाबाद, वीरभूम, पश्चिम बर्धमान, पुरुलिया, बाँकुडा, झारग्राम, पश्चिम मेदिनीपुर र पूर्व मेदिनीपुर जिल्ला रहेका छन् । 

पहिलो चरणको निर्वाचनमा कुल १ हजार ४ सय ४७ उम्मेदवार चुनावी मैदानमा छन्। ४४ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएका छन् । जसमध्ये ७ हजार ३ सय ८४ केन्द्रलाई ‘अति संवेदनशील’ वा ‘संवेदनशील’ रूपमा वर्गीकृत गरिएको छ। 

करिब ३ करोड ६० लाख मतदाताले यस चरणमा आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सुरक्षित बनाउन निर्वाचन आयोगले २ हजार ४ सय ७ जना केन्द्रीय सशस्त्र प्रहरी बल (सीएपीएफ) को कम्पनी परिचालन गरेको छ । जसमा २ लाख ४० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। 

मतदान केन्द्र आसपास क्विक रियाक्सन टिम (क्युआरटि) पनि परिचालन गरिएको छ। सबै मतदान केन्द्रमा ‘आश्वस्त न्यूनतम सुविधा’ र मतदाता सहायता उपलब्ध गराइनेछ। मतदान केन्द्रको प्रवेशद्वार बाहिर मतदाताका लागि मोबाइल फोन राख्ने व्यवस्था समेत मिलाइएको छ। 

आजदेखि शुरु भएको चुनाव बिभिन्न चरणमा अप्रिल २९ तारिखसम्म चल्ने छ। पश्चिम वंगाल बिधानसभाको २ सय ९४ सिटमा ममता वेनर्जीको त्रिणमुल कंग्रेस र भारतीय जनता पार्टीवीच कडा प्रतष्पर्धा हुने अनुमान गरिएको छ।