अन्तर्राष्ट्रिय

बन्द रहेको तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान पुनः सञ्चालन

काठमाडौं

इरानले करिब दुई महिनाअघि अमेरिका र इजरायलसँगको द्वन्द्व सुरु भएपछि बन्द रहेको तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान पुनः सञ्चालनमा ल्याएको छ । त्यहाँको सरकारी टेलिभिजनका अनुसार तेहरानबाट टर्कीको इस्तानबुल, ओमानको मस्कट र साउदी अरेबियामा उडानहरु शुरु गरिएको हो । यसअघि यही महिनाको सुरुवातमा अमेरिका–इरानबीच भएको युद्धविरामपछि आंशिक रुपमा हवाई क्षेत्र खुला गरिएको थियो ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको इस्लामाबादमा त्यहाँका उच्च सैनिक तथा राजनीतिक नेतृत्वसँग दुई चरणमा वार्ता गर्नुभएको छ । पाकिस्तानको विदेश मन्त्रालयका अनुसार इरानी प्रतिनिधिमण्डलले आज पनि उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएको छ ।

यसैबीच अमेरिकी प्रतिनिधिहरु पनि इस्लामाबाद पुग्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको युद्धविराम वार्ता पुनः अघि बढाउने प्रयासस्वरुप वार्ता गर्ने तयारी गरेको समाचारमा उल्लेख छ । इरान र अमेरिकाबीच अहिले केहि समयका लागि युद्धविरामको सहमति भए पनि हर्मुज जलमार्गबाट हुने इन्धन ढुवानी लगायतका आर्थिक गतिविधि सक्रिय हुन नसकिरहेका बेला दुईदेशका अधिकारीहरुबीच वार्ता हुन लागेको हो ।