भारत र न्युजिल्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा सहमति
काठमाडौंभारत र न्युजिल्याण्डबीच आपसी आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य सहित स्वतन्त्र व्यापार सम्झौतामा सहमति भएको छ । भारतमा रहेका न्युजिल्याण्डका व्यापार तथा लगानी मन्त्री टड म्याक्ले र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियूष गोयलबीच दुई देशबीच बजार पहुँच विस्तार गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
अमेरिकाले लगाएको उच्च भन्सार शुल्क र इरान युद्धका कारण ढुवानी तथा ऊर्जा आपूर्ति शृंखलामा उत्पन्न अस्थिरताबीच भारतले आफ्नो निर्यात बजार विस्तार गर्ने रणनीति अघि बढाइरहेको सन्दर्भमा सो सहमति भएको हो । उता, न्युजिल्याण्डले पनि आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार चीनमाथिको निर्भरता घटाउने उद्देश्यले सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विश्वव्यापी व्यापारमा देखिएको अवरोधका बीच दुई देशबीच भएको पछिल्लो सम्झौता महत्वपूर्ण मानिएको छ । झण्डै नौ महिनाको वार्तापछि डिसेम्बरमा सहमति जुटाइएको सो सम्झौताअनुसार न्युजिल्याण्डबाट भारततर्फ हुने ९५ प्रतिशत निर्यातमा भन्सार शुल्क घटाइनेछ । यस्तै भारतबाट न्युजिल्याण्डतर्फ हुने सबै निर्यातमा शुल्क नलाग्ने सहमति भएको समाचारमा उल्लेख छ ।