अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग पुनः खोल्ने इरानको संकेत

काठमाडौं

हर्मुज जलमार्गबाट जारी तनावबीच एक रुसी जहाज सो क्षेत्र पार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी अर्बपति एलेक्सिया मोर्दाशोभसँग सम्बन्धित सो जहाज हर्मुज जलमार्गबाट पार गरेको बीबीसीले जनाएको छ । करिब १ सय ४२ मिटर लामो र ५० करोड डलरभन्दा बढी मूल्यको सो विलासी जहाज दुबईबाट ओमानको मस्कटसम्म पुगेको समाचारमा उल्लेख छ । 

राष्ट्रपति पुटिनसँग निकट मानिएका अर्बपति मोर्दाशोभ माथि अमेरिका, बेलायत र युरोपेली संघले प्रतिबन्ध लगाएका छन् । इरान र अमेरिकाबीच बढ्दो तनावका कारण हाल जहाज आवागमनमा कडा प्रतिबन्ध लगाइएको छ । यद्यपि रुसी जहाजले इरानी बन्दरगाहमा अवरोध विना पार गरेकाले इरानको अनुमति पाए नपाएकोबारे स्पष्ट नभएको जनाइएको छ । यसैबीच, रुस र इरानबीच कूटनीतिक सम्बन्ध पनि थप मजबुत बनाउने प्रयास भइरहेका छन्।

यसैबिच इरानले विश्वका लागि अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः खोल्न तयार रहेको संकेत दिएको छ । अमेरिकाले आफ्नो नाकाबन्दी हटाउन र युद्ध अन्त्य गर्ने शर्त पालना गरेमा इरानले हर्मुज जलमार्गमा अवरोध नगर्ने जनाएको हो । इरानका विदेशमन्त्री अब्बास अराघचीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सेन्ट पीटर्सवर्गमा भेटवार्ता गरेपछि यस्तो प्रस्ताव गरिएको समाचार संस्था एपीले जनाएको छ । 

समाचरमा उल्लेख भए अनुसार पाकिस्तानमार्फत यो प्रस्ताव अमेरिकासम्म पु¥याइएको हो। यद्यपी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव स्वीकार गर्ने सम्भावना भने कम देखिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको आणविक कार्यक्रमलाई समेटेर मात्रै कुनै सम्झौता हुनुपर्ने बताउनुभएको उल्लेख छ ।