कला/साहित्य

सुनिता सुब्बालाई रेडियो कान्तिपुरको सलाम

काठमाडौं

रेडियो कान्तिपुरले सलाम ज्यूँदो इतिहासलाई कार्यक्रममार्फत् वरिष्ठ गायिका सुनिता सुब्बालाई शनिबार सम्मान गरेको छ । साढे ४ दशकयता नेपाली साँगीतिक क्षेत्रको उन्नयनमा लागेकोमा रेडियोले उनलाई सम्मान गरेको हो । रेडियोका स्टेशन म्यानेजर पवन आचार्यले सुब्बालाई दोसल्ला ओढाई अभिनन्दन पत्र थमाएर सम्मान गरे ।

आमाबाट प्रेरित भएर १० वर्षको उमेरमै गायनमा होमिएकी उनले कृष्ण नारायण श्रेष्ठबाट संगीतको औपचारिक कक्षा लिइन् । २०४२ सालमा रेडियो नेपालमा राम थापाको संगीत र सुरेन्द्र रानाको शब्दमा थामेर किन छोड्यौ हातहरु गीत रेकर्ड गराएपछि भने उनको चर्चा चुलियो । पहिलो रेकर्ड गरेको गीत नै हिट भएपछि उनले गोपाल योञ्जन र राम थापाको सान्निध्य पाइन् ।

गहिरो स्वर र भावनात्मक प्रस्तुतिका कारण सुब्बाको सधैं छुट्टै पहिचान बनिरह्यो । संगीतलाई पेशाभन्दा पनि शौखको रुपमा लिने उनी सधैं चर्चाभन्दा कर्मले चिनिन चाहन्छिन् । तर, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने बेलामा उनले लोक संगीतका माध्यमबाट देखिएका लिम्बु जातिको परिवर्तित सामाजिक जीवनका बारे सोधपत्र तयार पारिन् । अहिले पनि उनी आपूmलाई नेपाली भाषा तथा संस्कृति सहजकर्ताका रुपमा आपूmलाई चिनाउन मन पराउँछिन् । आधुनिक, लोक, पाश्वगायन र राष्ट्रिय गीत गरी सुब्बाले ४ सय भन्दा बढी गीतमा स्वर दिएकी छन् ।



सम्मान कार्यक्रममा उनले भनिन्, “निरन्तर कर्ममा लागि पर्ने म चर्चाभन्दा जहिले पनि पर रहन चाहें । तर, रेडियो कान्तिपुरले जीवनकालमै सम्मान गर्ने परम्परा थालेकाले पनि खुसीसाथ सहभागी भएकी हूँ ।” केही वर्षअघि सलाम श्रृंखलामा रामेश श्रेष्ठलाई सम्मान गर्दा सुब्बाले केही गीत प्रस्तुत गरेकी थिइन् । “रामेश दाइलाई पनि म गुरु नै मान्छु । उहाँसँग धेरै गीतमा काम गरेकाले पनि उहाँको सम्मानमा गीत गाउन पाउँदा त्यतिबेला पनि खुसी लागेको थियो” उनले सुनाइन् ।

कार्यक्रममा सुब्बाका चर्चित गीतहरु मध्ये थामेर किन छोड्यौ हातहरु, सिमसिम पानीमा घरमा सौता छ माईत सानिमा, जनम जनम जिउँदा सँगै, लाको माया लाइन नभन र गरीबको चमेलीलाई समृद्धि परियार, सुभाष मण्डल र विमला परियारले गाएका थिए । नयाँ कलाकारले आफ्ना गीत गाएको प्रत्यक्ष सुन्दा उनी दंग परिन् ।

लामो समयपछि श्रोता र दर्शकसँग जोडिन पाएको भन्दै उनले छिट्टै केही नयाँ प्रस्तुति लिएर आउन ऊर्जा मिलेको सुनाइन् ।

रेडियो कान्तिपुरले सलाम ज्यूँदो इतिहासलाई श्रृंखला अन्तर्गत हरेक महिनाको अन्तिम शनिबार नेपाली गीत, संगीत, कला र साहित्य क्षेत्रका मुर्धन्य श्रष्टालाई जीवनकालमै सम्मान गर्दै आएको छ । कार्यक्रम रेडियो र रेडियोको आधिकारिक फेसबुल पेजबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।