धर्मेन्दको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य
- काठमाडौंभारतीय फिल्मका लोकप्रिय अभिनेता धर्मेन्द्रको ८९ बर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित अस्पतालमा उपचारपछि घर फर्किएको केही दिनपश्चात् धर्मेन्द्रको निधन भएको हो ।
सन् १९६० बाट फिल्मी दुनियाँ प्रवेश गरेका धर्मेन्द्रले ३ सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य भएको छ ।
सन् १९३५ डिसेम्वर ८ मा पञ्जाबको लुधियाना जिल्लामा मध्मवर्गीय परिवारमा धर्मेन्द्रको जन्म भएको थियो । पेशाले शिक्षक रहेका बाबुले पढाइमा ध्यान केन्द्रित गर्न भनेपछि उनमा फिल्मको लत बस्न थालिसकेको थियो ।
यही क्रममा उनले सन् १९६० मा दिल भी तेरा हाम भी तेरे नामक फिल्मबाट बलिउडमा डेव्यु गरेका थिए । त्यसको तीन दशकसम्म बलिउडमा थुप्रै चर्चित फिल्म खेलेका धर्मेन्द्रलाई सन् १९६३ मा बिमल रोयको फिल्म बन्दीनीले दर्शकमाझ चिनाएको थियो ।
फूल औंर पत्थर, मेरा गाउँ मेरा देश, ’चुप्के चुप्के’ शोले जस्ता दर्जनौ फिल्ममा उनको अभिनय रह्यो । रोमाञ्च र एक्सनका साथै कमेडियन फिल्ममा उनले खेलेका छन् ।
आफ्ना पालाका लोकप्रिय नुतन, मीनकुमारी, माला सिन्हा र साइरा बानुसहित ७० भन्दा बढी नायिकासँग फिल्म खेलेका धर्मेन्द्रले रिल र रियल लाइफ दुवैमा हेमा मालिनीसँग सफलता पाएका थिए ।
साथै फिल्मबाट आपसी सम्बन्ध बनाएका धर्मेन्द्रले हेमा मालिनीलाई दोस्रो श्रीमतिको रुपमा भित्राएका थिए । धर्मेन्द्र र हेमाले सुपर हिट फिल्म सिता और गीता, राजा जानी र शोले लगायतमा अभिनय गरेर बलिउडमा तहल्का मच्चाएका थिए ।
त्यसपछि धर्मेन्द्रले पहिलो श्रीमति प्रकाश कौरलाई त्यागेर हेमा मालिनीसँगको वैवाहिक सम्वन्धलाई अघि बढाएका थिए ।
दोस्रो विवाहका लागि उनीहरुले धर्म परिवर्तन गरेर इस्लाम धर्म रोजेको आरोप लागेको थियो तर धर्मेन्द्रले भने त्यसलाई अस्वीकार गरे ।
अभिनेता धर्मेन्द्र राजनीतिमा पनि लागेका थिए । उनी सन् २००५ देखि २००९ सम्म भारतीय जनता पार्टीबाट सांसद बनेपनि संसदमा कमै मात्र देखिए ।
बरु उनी फिल्मको सुटिङ र खेती कार्यमा बढी व्यस्त भएका थिए । धर्मेन्द्रलाई अभिताभ बच्चनसँगको फिल्म शोलेले निकै चर्चित बनायो, जसमा उनले बिरु नामको पात्रका लागि अभिनय गरेका थिए ।
दिलीप कुमार, राजेश खन्ना र अमिताभ बच्चनजस्ता समकालीनको प्रभाव रहेकाले फिल्मफेयर अवार्डमा भने धर्मेन्द्र पछि परेका थिए भनिन्छ । तर १९९७ मा फिल्मफेयरले उनलाई ‘लाइफटाइम अचीभमेन्ट अवार्ड’ दियो र २०१२ मा भारत सरकारले उनलाई पद्म भूषण प्रदान गरेको थियो ।
धर्मेन्द्रलाई आफ्नो स्टारडमलाई भन्दा सरलतालाई महत्व दिएको र नम्वर एक बन्ने दौडमा नलागेको अभिनेताका रुप चिनिन्छ ।
भारतीय फिल्मका नेपाली दर्शकसामु समेत लोकप्रिय उनै धर्मेन्द्रको ८९ बर्षको उमेरमा इहलिला समाप्त भएपनि बलिउडमा नबिर्सिने अमिट छाप छाडेर गएका छन् ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्– भारतीय फिल्मको एउटा युग समाप्त भएको छ ।