कला/साहित्य

‘गतलाङका महिलाको कथा’ को प्रदर्शनी काठमाडौंमा

काठमाडौं

रसुवाको पर्यटकीय गाउँ गतलाङका महिलाको जीवनसंघर्ष झल्काउने तस्बिरको प्रदर्शनी ‘गतलाङका महिलाको कथा’ काठमाडौमा सुरु भएको छ । प्रदर्शनीमा फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ वटा तस्बिर राखिएका छन् । एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा भएको प्रदर्शनीको शुभारम्भ काठमाडौंमा बसेर मजदुरी गर्दै आएकी गतलाङ गाउँकी महिला न्यान्जोम तामाङले गरेकी थिइन् ।

तस्बिरहरुमा ग्रामीण महिलाको दिनचर्या झल्काइएको छ । कार्यक्रममा आछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङले काठमाडौंमा गतलाङका तस्बिर देख्न पाउँदा गौरव लागेको बताए । भाषा एवम् संस्कृतिविद् अमृत योञ्जन तामाङले तस्बिर अवलोकन गर्दा गतलाङमै पुगेको अनुभूति भएको सुनाए । अर्का वक्ता बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले थोकरका तस्बिर उत्कृष्ट भएको प्रतिक्रिया दिए ।

तस्बिरमार्फत गतलाङ र काठमाडौंबीच सिर्जनात्मक पुल बनाउन प्रदर्शनी आयोजना गरिएको आयोजक संस्थाका प्रमुख लिलाराम खड्काले बताए । प्रदर्शनी बुधबारसम्म चल्ने आयोजकले जनाएको छ ।