डेपुटी गभर्नरको 'मुलुक आर्थिक समृद्धिको यात्रामा' सार्वजनिक
- काठमाडौंनेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको 'मुलुक आर्थिक समृद्धिको यात्रामा' नामक पुस्तक सार्वजनिक भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुस्तकको विमोचन गर्नुभयो ।
पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको सो पुस्तकमा मुलुकको वित्तीय व्यवस्था, आर्थिक सुशासन, विश्व व्यापार, सम्पत्ति शुद्धिकरण लगायत सम्बन्धी आलेखहरु समावेश छन् ।
डेपुटी गभर्नर शिवाकोटीले रचना गर्नुभएको 'समृद्ध नेपाल:सुखी नेपाली' शीर्षकको गीत पनि प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गरेरै छोड्ने भन्दै असल प्रणाली बसाउने क्रममा कसैलाई छुट नदिने बचाउनुभयो । जनताले लुट्नका लागि कसैलाई शासनसत्तामा नपुर्याएको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुविरुद्ध शुन्य सहनशीलता अपनाउने दाबी गर्नुभयो ।
स्वच्छ र सरल आर्थिक गतिविधि र आर्थिक सुशासन कायम भए मुलुक समृद्धिको बाटोमा अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ध्वस्त भएको अर्थतन्त्र उकास्न केही समय लाग्ने भन्दै उहाँले मुलुक समृद्ध बन्नसक्ने धेरै आधारहरु रहेको बताउनुभयो ।