मुख्य समाचार

नेपालको सडक सुरक्षित बनाउन थप लगानी आवश्यक छ : विश्व बैंक

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालको सडकलाई सुरक्षित बनाउन थप लगानी आवश्यक रहेको विश्व बैंकले जनाएको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले आगामी दशकभित्र सडक दुर्घटनाबाट हुने मृत्यु दर आधाले घटाउन थप ८७ करोड ९० लाख डलर लगानी आवश्यक रहेको जनाएको हो ।

 स्वीडेनको स्टकहोममा भएको सडक सुरक्षासम्बन्धी तेश्रो मन्त्रीस्तरीय विश्व सम्मेलनमा सार्वजनिक गरिएको प्रतिवेदनमा नेपाल, भारत, बंगलादेश, भुटान लगायतका पूर्वी उपक्षेत्रीय मुलुकहरुमा दुर्घटना बढी हुने गरेको उल्लेख छ ।

सडक सुरक्षाको व्यवस्थित, लक्षित र दिगो कार्यक्रमको कमी र लगानी गर्दा प्राथमिकता पहिचान गर्न असक्षम हुँदा ती मुलुकको सडक असुरक्षित रहेको प्रतिवेदनमा जनाइएको छ ।

दक्षिण एसियामा तीब्र आर्थिक वृद्धि सँगै सवारीसाधनमाथिको स्वामित्व पनि बढ्दै गई सडक दुर्घटना बढेको भन्दै विश्व बैंकका लागि दक्षिण एसिया निर्देशक हार्टविग स्काफरले दक्षिण एसियाको सडक सुरक्षा संकट अस्वीकार्य भएपनि न्यूनीकरण गर्न सकिने बताउनुभयो । आफ्ना नागरिकलाई तत्काल सुरक्षा प्रदान गर्नुपर्ने आवश्यक्तालाई दक्षिण एसियाले पहिचान गर्नु सुखद भएको भन्दै उहाँले त्यस क्रममा आवश्यक पर्नसक्ने सहयोगका लागि विश्व बैंक सधै तयार रहेको बताउनुभयो । 

सडक र सवारीलाई सुरक्षित बनाउन क्षेत्रीय पहल आवश्यक रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ ।