अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्मका लागि स्थगित
- काठमाडौंसरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध आगामी बैशाख १८ गतेसम्मका लागि लम्ब्याउने भएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले संक्रमण थप फैलिन नदिन अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्धको समय थप गरेको हो ।
आन्तरिक उडानका सम्बन्धमा भने छलफल जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं समिति सदस्य नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।
विशेष परिस्थितीमा बनाईने कार्यविधिका आधारमा स्वास्थ्य सामाग्री खरिद गर्ने प्रक्रिया अगाडी बढिसकेको पनि समिति सदस्य बिडारीले जानकारी दिनुभयो ।
बढी प्रभावित कैलाली, कञ्चनपुर र बागलुङमा आरडिटी पद्धतीबाट शीघ्र परीक्षण गर्ने र शंकास्पद संक्रमितको बिस्तृत स्वास्थ्य परीक्षण गर्ने व्यवस्थता गर्ने निर्णय पनि गरिएको छ । संक्रमणको जोखिममा रहेका अन्य स्थानमा पनि परीक्षणलाई सघन रुपमा अघि बढाउने बारे समेत छलफल भएको बिडारीले जानकारी दिनुभयो ।
यस्तै, कडाई र निगरानीलाई जारी राख्दै सबै खालका अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तीलाई स्वभाविक राख्ने निर्णय पनि बैठकले गरेको छ ।