मुख्य समाचार

संसदबाट अनुमोदन नभएसम्म एमसीसी अन्तर्गतका काम रोक्ने नेकपाको निर्णय

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सत्तारुढ नेकपाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट अनुमोदन नभएसम्म त्यस अन्तर्गतका सबै काम रोक्ने निर्णय गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको सचिवालय बैठकले एमसीसी संसदबाट अनुमोदन भएपछि मात्रै आयोजना अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

एमसीसी सम्बन्धमा वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदन थप अध्ययन गरेर निष्कर्षमा पुग्ने सहमति समेत बैठकमा भएको श्रेष्ठले बताउनुभयो ।

नेकपा भित्र एमसीसी पेचिलो बन्दै गएको सन्दर्भमा बजेटमा समेत सो कार्यक्रम समेटिएपछि सचिवालयमा आज थप छलफल भएको हो । एमसीसी कार्यान्वयनलाई लिएर नेकपामा दुई धार छ । 

एक थरी एमसीसी हुबहु पारित हुनुपर्ने अडानमा छन् भने अर्का थरी परिमार्जन सहित पारित हुनुपर्ने अडानमा छन् । आजको सचिवालय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र कार्यदल सदस्यहरु परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, र नेता भीम रावलको समेत सहभागिता थियो । 

आगामी आर्थिक बर्षको बजेटमा समेत एमसीसी कार्यक्रम समेटिए पछि पार्टी भित्र उत्पन्न विवादलाई साम्य पार्न सचिवालय बैठकमा अर्थमन्त्री खतिवडालाई पनि बोलाईएको हो ।