मुख्य समाचार

कोरोना शंकास्पद बिरामीको उपचारका क्रममा मृत्युु

- माधव अर्यालपाल्पा

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका एक जना बिरामीको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्युु भएको छ । उनी पुर्वखोला गाउँपालिका–१, सिलुवाका ४६ वर्षीय पुरुष रहेको युनाइटेड मिसन अस्पतालका सूचना अधिकरी जीवन भट्टराईले जानकारी दिनुभयो । 

कोरोना भाइरस संक्रमणसंग मिल्ने लक्षण देखिएपछि अस्ति सोमबार बिहान उनलाई पूर्वखोलाबाट मिसन अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा हिजो साँझ मृत्युु भएको अस्पतालले पुष्टि गरेको छ । 

अस्पतालका अनुसार उनमा श्वास फेर्न कठिन हुने, सुख्खा खोकी लाग्ने, १ सय दशमलव ४ डिग्री भन्दा बढी ज्वरो आउने र छाती द्ख्ने लक्षण देखिएको थियो । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिए पनि कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न स्वाब प्रादेशिक प्रयोगशाला भैरहवा पठाएपनि रिपोर्ट आइसकेको छैन । कोरोनाको सम्भावित लक्षण देखिएकाले सोमबार नै उनको स्वाव संकलन गरिएको थियो । 

स्वास्थ्य कार्यालयले भने मंगलबार बिहान मात्र परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको जनाएको छ । पूर्वखोलागाउँपालिका–२, जल्पाका वडाध्यक्ष नीरबहादुर सारुका अनुसार आइतबार राती ४६ वर्षीय पुरुष सहित ३९ जना बसमा संगै आएका थिए ।

‘जल्पामा आउँदा नै सन्चो नभएको जस्तो देखिएको थियो,’ सारुले भन्नुभयो, ‘राती भएकाले चाउचाउ उमालेर त्यही खाएर सुतेका हुन् ।’ सोमबार बिहानै समस्याले च्यापेपछि स्वास्थ्य चौकी प्रमुखले ज्वरो नाप्न लगाएर थप उपचारका लागि बसमा तानसेन पठाएको उहाँले बताउनुभयो । 

भारतको मुम्बईबाट आएका उनलाई लामो यात्राले थकान महशुष भएको हुन सक्ने उनका साथीहरुले बताएका छन् । सोही क्वारेन्टिनमा बसेका ४९ वर्षीय एक पुरुषलाई पनि ज्वरो आएकाले थप उपचारका लागि तानसेन पठाउने तयारी भएको वडाध्यक्ष सारुले बताउनुभयो ।