मुख्य समाचार

रेलसेवा सञ्चालनका लागि नेपाल र चीनबीचको छलफल अन्योलमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

काठमाडौं–केरुङ रेलसेवा सञ्चालनका लागि नेपाल र चीनबीचको छलफल अन्योलमा परेको छ । बिभिन्न चरणमा दुई पक्षबीच ५ वटा वार्ता भएपनि कोरोना माहामारीका कारण दुई देशीय संवाद ठप्प बनेको हो । नेपालमा ३ र चीनमा २ वार्ता भएपनि त्यसपछिका वार्ता अन्योलमा परेका हुन् ।

पूर्वनिर्धारित तालिका अनुसार छैठौं वार्ता बेईजिङमा जुनमै हुनुपर्ने हो । माहामारीको चरम समस्या आएपछि रेल विभाग र चीनको नेशनल रेल्वे अथोरिटीबीचको औपचारिक संवाद टुटेको हो । विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार व्यक्तिगत रुपमा नियमित सम्पर्क भएपनि तत्काल औपचारिक वार्ताको सम्भावना न्यून देखिएको छ । 

अथोरिटीले सो परियोजनाको प्रारम्भीक अध्ययन प्रतिवेदन गत मंसिर २४ गते नेपाल सरकारलाई बुझाईसकेको छ । ८० किलोमिटर लामो मार्ग ९ बर्षमा सक्ने अध्ययनमा उल्लेख गरिएको छ । जसको लागत करिब ३ खर्ब रुपैयाँको हुनेछ । 

पछिल्ला वार्ता प्राविधिक रुपमा केन्द्रित भएपनि वार्ता नै रोकिएपछि अन्य प्रक्रियागत काम समेत प्रभावित भएका छन् । केरुङ–काठमाडौं मार्गलाई पोखरासम्म बिस्तार गर्ने विभागको तयारी छ । १ सय ७१ किलोमिटरको मार्गका लागि पनि दुई मुलुकबीचको छलफल जारी छ ।

यसैबीच, जनकपुर जयनगर रुटमा सञ्चालन गर्ने रेल नेपालको सिमा नजिक पार्किङमा राखिएको विभागले जनाएको छ । भारतमा निर्माण गरी केही समय अघि नै नेपालका लागि आएका दुबै रेल नेपालको सीमानजिक हाजीपुरमा पार्किङ गरिएको विभागका माहानिर्देशक मिश्रले जानकारी दिनुभयो । 

नेपालको सिमाबाट झण्डै ३ घण्टाको दुरीमा रहेको प्लेटफार्ममा दुवै रेल पार्किङ गरिएको छ । रेलसेवा सञ्चालनका लागि आवश्यक प्राविधिकको व्यवस्थापनपछि मात्र ती रेललाई नेपाल ल्याईने विभागले जनाएको छ । तत्काल प्राबिधिक कर्मचारी नियुक्ति गर्ने सम्भावना न्यून देखिएपछि विभागले भारतबाट कर्मचारी झिकाउने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ ।