मुख्य समाचार

लिमीका वडा अध्यक्ष भन्छन, 'डेढ किलोमिटर यता आएर बनाए चिनियाँले भवन'

- जनकबहादुर शाहीकाठमाडौं

चीनले सीमामा रहेको नेपाली भूभाग अतिक्रमण नगरेको सरकारले बताइरहदा हुम्लाको नाम्खा गाउँपालिका ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले भने चिनियाँहरुले भवन बनाएको करिब डेढ किलोमिटर भूभाग नेपालकै रहेको दाबी गर्नुभएको छ ।

स्थानीयहरुले पुर्खाको पालादेखि भोगचलन गरिरहेको ललुङजोङको नेपाली भूमीमा आएर चिनियाँले भवनहरु बनाएको तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङले भन्नुभयो, खोलापारी उनीहरु बस्थे वारी हाम्रो हो । ६६ सालदेखि खोला पारी चीनले रोड खन्यो वारी नेपालले खनेको थियो । त्यतिखेर चीनले कुनै अवरोध गरेको थिएन । खोलादेखि भवन भएको ठाउँसम्म आउन करिब डेढ किलोमिटर लाग्छ । अहिले त चिनियाँ पक्ष डाँडासम्म आफ्नो भनेर आएको छ । विगतमा वस्तु तथा चौपाया चराउन त्यहाँ गोठ नै राखेर नेपाली बस्ने गरेका थिए । पछिल्ला दिनमा भने बस्तुभाउ पाल्ने कम भएपछि त्यहाँसम्म कमै नेपालीहरु मात्रै पुग्न थालेका छन् ।

१२ नम्बर सीमा स्तम्भ लाप्चा डाँडामा र ११ नम्बर स्तम्भ नाम्खा गाउँपालिका ६ मानेपेमेको टुप्पोमा रहेको टाकुलेमा छ ।१२ नम्बर पिल्लरको अवस्थितिलाई हेर्दा पनि भवन बनाएको क्षेत्र नेपालकै भएको पुष्टि हुने तामाङले बताउनुभयो ।

यसअघि ०६९ सालमा पनि चिनियाँले नेपाली भू–भागमा दाबी गर्न खोज्दा बिरोध भएपछि उनीहरु फर्किएका थिए । हाल आएर पुन: सो क्षेत्र आफ्नो भएको दाबी गर्दै चिनियाँ भवन नै बनाएर बसेका छन् । यस्तो अवस्थामा स्थलगत अध्ययनमा गएको टोली नफर्कदै सरकारले आधिकारीक धारणा सार्वजनिक गर्नु अपरिपक्व भएको तामाङको भनाई छ ।