मुख्य समाचार

स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

- केएफएम डेस्ककाठमाडौं

प्रतिनिधि सभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । कांग्रेसले गत पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरिसकेको छ ।

आगामी बिहीबार पनि कांग्रेसले सबै स्थानीय तह र ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन एवं सभा गर्दैछ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

यसैबीच कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले संविधान जोगाउनका लागि प्रतिनिधि सभा पुनस्र्थापना हुनु पर्नेमा जोड दिनु भएको छ । चितवनको शारदानगरमा आयोजित नेपाली कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले संविधान, लोकतन्त्र खतरामा पर्ने भन्दै उहाँले प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नरहेको उल्लेख गर्नुभयो । राष्ट्रको आत्म निर्णयमाथिको प्रहारलाई बुझ्दै प्रतिनिधिसभाको विघटनलाई सच्याउनु पर्ने उहाँको भनाई थियो ।