मुख्य समाचार

गण्डकीमा माओवादी केन्द्रका दुई जना मन्त्रीद्वारा राजीनामा

- लालप्रसाद शर्मापोखरा

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले आज राजीनामा दिएका हुन् । 

आजबाट सुरु भएको गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै कानून मन्त्री चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा पत्र बुझाइसकेको जानकारी दिनुभयो । 

पोखरामा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी दुई जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने सो पार्टीले जनाएको छ ।

२०७४ फागुन ४ गतेदेखि दुबै जना मन्त्री रहँदै आएका थिए । नेकपा एमालेलाई मुख्यमन्त्री र माओवादी केन्द्रलाई सभामुखको पद बाँडिएको थियो । 

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सदस्य छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई अहिलेसम्म माओवादी केन्द्र र राजमोको समर्थन छ ।