मुख्य समाचार

राष्ट्रपतिबाट विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदकबाट सम्मान

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्नुभएको छ । 

महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दिवङ्गत मदनमणि दीक्षित, पूर्वमन्त्री दिवङ्गत रवीन्द्र अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा डा दिव्यासिंह शाहलगायत विभूषित हुनुभएको छ ।

 यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिंदै आएको छ । गत वर्ष विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट १ सय १२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २ सय जना छन् । यस्तै जनसेवाश्री प्रथमबाट ११०, अलंकार तर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो । आज बाँकी रहेकालाई आगामी वैशाख १ गते सम्मान गरिने सरकारले जनाएको छ ।