मुख्य समाचार

नेपालमा हालसम्म ५४ हजार ४ सय ६० बालबालिका कोरोना संक्रमित

- केएफएम डेस्ककाठमाडौं

कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका बढी प्रभावित भएको एक सरकारी प्रतिवेदनले देखाएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदनका अनुसार हालसम्म नेपालमा ५४ हजार ४ सय ६० बालबालिका कोरोना संक्रमित भएका हुन् । जसमध्ये पहिलो लहरमा २१ हजार ५ सय २३ बालबालिका र दोस्रो लहरपछि हालसम्मको अवधिमा ३२ हजार ९ सय ३७ बालबालिका संक्रमित भएका छन् ।

 प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा आज परिषद्का कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले कोरोनामा बालबालिकाको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने र ज्यान गुमाउने बालबालिकाको संख्या बढी रहेको जानकारी गराउनुभएको हो । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ८१ बालबालिकाको ज्यान गइसकेको छ । 

 पहिलो लहरमा ३८ बालबालिकाको ज्यान गएकोमा दोस्रो लहरको हालसम्मको अवधिमा ४३ बालबालिकाले ज्यान गुमाइसकेका छन् । यस्तै, दोस्रो लहर सुरु भए यता २९ हजार ७ सय ७७ बालबालिका संक्रमणमुक्त भएको प्रतिवेदनमा उल्लेख छ ।