मुख्य समाचार

नेपालको राष्ट्रियता बलियो हुनुपर्छ : मुख्यमन्त्री आदित्यनाथ

- राजेश मिश्रनयाँ दिल्ली

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र नेपालीको राष्ट्रियता बलियो हुनु भारतको लागि हितकर हुने बताउनु भएको छ । लखनउमा शनिबार नेपाली कांग्रेसका नेताहरुसँगको भेटघाटमा मुख्यमन्त्री आदित्यनाथले नेपाल–भारतको सबैभन्दा नजिकको मित्र रहेको र उसको समृद्धि भारतीय जनताले चाहेको बताउनुभयो । 

‘नेपाल जति समृद्ध र बलियो हुन्छ, त्यो त्यति नै भारतका लागि हितकर हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि भारत सरकार र भारतीय जनताले नेपाललाई हरसम्भव सहयोग गर्नेछन् ।’ मुख्यमन्त्री आदित्यनाथले नेपाली जनता धेरै विश्वसनीय रहेको चर्चा समेत गर्नुभयो । 

समान धर्म र संस्कृति रहेको दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा दुबै पक्षका सरकारले जोड दिनुपर्ने उहाँको भनाई थियो । नेपाललाई सहयोग गर्ने विषयलाई भारतले सदैव प्राथमिकतामा राख्नुपर्ने र समस्याको समाधान गरेर अगाडि बढ्न्ुपर्ने उहाँले बताउनुभयो । 

भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा नयाँ दिल्ली पुगेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरु अजय कुमार चौरसिया र उदय शमशेसर राणा तीन दिनदेखि भारतीय जनता पार्टी (बीजेपी)का नेताहरुसँग भेटघाटमा व्यस्त छन् । 

नेता महतले भारतीय शहर र सीमा क्षेत्रमा नेपालीले भोग्नु परेको समस्यातर्फ मुख्यमन्त्री योगीको ध्यानाकर्षण गराउनु भएको थियो । त्यस्तै, बनारसमा रहेको नेपाली पशुपति नाथ मन्दिर संरक्षणको विषयमा समेत छलफल भएको थियो । 

लखनउपछि कांग्रेस नेताहरु उत्तर प्रदेशकै अर्को शहर बनारस पुगेका छन् । यसअघि नेता महत नेतृत्वको टोलीले बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, विदेशमन्त्री एस जयशंकर र बीजेपी राष्ट्रिय महासचिवहरु तथा विदेश विभागका पदाधिकारीहरुसँग भेटभाट, छलफल गरेको थियो ।