मुख्य समाचार

इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दायर

काठमाडौं

सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका बचतकर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । तामाङसहित ४२ जनाविरुद्ध ५ अर्ब ६७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र संगठित अपराधमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

तामाङलाई सीआईबीले गत असोज १८ मा प्रक्राउ गरेको थियो । उनीसहित १२ जना प्रक्राउ परेका छन् । सीआईबीसमक्ष हालसम्म २ सय १ वटा उजुरी परेका छन् । सिभिल सहकारीबाट १ हजार ५ सय २० जना ठगिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सरकारी वकिलको कार्यालयले तामाङसहितका अभियुक्तलाई अधिकतम सात वर्ष कैद, ७० हजार जरिवाना र पीडितलाई ठगिएको रकम भराउने मागदाबी गरेको छ । संगठित अपराध पनि ठहर भएमा उनीहरुमाथि थप ५० प्रतिशत कैद तथा जरिवाना हुनेछ । यस्तै जेष्ठ नागरिकमाथि ठगी गरेको भन्दै त्यसमा समेत थप सजाय माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।