मुख्य समाचार

नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन रोक्न विद्यार्थी संगठनलाई निर्देशन

- देवनारायण साहमोरङ

विराटनगरस्थित नोबेल मेडिकल कलेज विरुद्धको आन्दोलन रोक्न विद्यार्थी संगठनलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ । 

एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनलाई पत्राचार गरेर आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको हो । 

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण थप फैलिने जोखिम बढेकाले स्थगित गर्न निर्देशन दिनुभएको हो । 

प्रजिअ दाहालले पठाएको पत्रमा नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्कको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढिसकेकोले आन्दोलनको औचित्य नभएको उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन अनुसन्धान सुरु गरेको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनसँग छलफल गरेर जिल्ला प्रहरी कार्यालयलाई अतिरिक्त शुल्क असूलेको विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरी पत्राचार गरेको थियो । जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले एक साताभित्र अनुसन्धान गरेर अतिरिक्त असूली गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने बताउनुभयो । 

कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्री तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् ।

पीडित विद्यार्थीहरुको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान समर्थन जनाएका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा गत पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । पठन पाठनमा रोक लगाएपछि विद्यार्थी संगठनको सहयोगमा पीडित विद्यार्थीहरुले कलेज प्रशासनमा पुस २१ गते तालाबन्दी गरेर रिले अनशन बस्दै आएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क बाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफलिएशन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीहरुले बताए । 

सो शुल्क विद्यार्थीहरुलाई आफै विश्वविद्यालयको नेपाल बैंक लिमिटेल र इन्भेष्टमेन्ट बैंक र काउन्सिलको एसबीआई बैंकको खातामा र होस्टेल शुल्क कलेजको बैंक खातामा जम्मा गर्न लगाएको हो ।

आन्दोलनरत विद्यार्थी संगठनहरुले तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असूल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गर्दै आएपनि कलेजले विद्यार्थीको अभिभावकलाई डर, त्रास देखाएर शुल्कहरु असूलेर विद्यार्थी भर्ना गराइरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।