मुख्य समाचार

कांग्रेस बाँझो खेत र दाहाल हजार जिब्रा भएको शेष नाग : ओली

- देवनारायण साहमोरङ

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सुख्खा परेको बाँझो खेत र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हजार जिब्रा भएको शेष नाग भएको आरोप लगाउनु भएको छ । 

एमाले मोरङले बुधबार रंगेलीमा आयोजना गरेको ‘तराई मधेस बृहत् जनसभा’मा अध्यक्ष ओलीले कांग्रेस सुख्खा परेको बाँझो खेत भएकाले केही नउम्रिने टिप्पणी गर्नुभयो । ‘कांग्रेसको बुढो रुख बिस्तारै ढल्दैछ अब हरियो हुनेबाला छैन,’ उहाँले भन्नुभयो, ‘तर बुढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रमा चुनाव चिन्हको रंग हरियो राख्ने निर्णय गरेको छ ।’ 

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतपत्रमा भएको चुनाव चिन्ह हरियो रंगको रहने गरेको निर्णय प्रति ओलीले आपत्ति जनाउनु भएको थियो । 

चुनाव चिन्हमा हरियो रंग राख्दैमा कांग्रेसको रुख हरियो नहुने टिप्पणी गर्दै ओलीले कुनै पार्टीको चुनाव चिन्हको रंगसँग मिल्ने मतपत्रको चुनाव चिन्हको रंग राख्न नहुने बताउनुभयो । ओलीले मतपत्रको चुनाव चिन्हको रंग रातो राख्न माग गर्नुभयो । 

‘कांग्रेसमा अलमलिएर रहेकाहरुलाई आग्रह गर्न चाहन्छु एमालेको विरोध गरेर जनता अलमल्याएर भ्रममा पारेर केही गर्छु भनेर चाहेको छ त्यो जमाना गयो अब जनता अलमलिनेबाला छैन,’ उहाँले भन्नुभयो, ‘एमालेको सरकार जनताले ढालेको छैन जनताको आशीर्वाद एमालेसँग छ । हामी स्थानीय तहबाट विजयको यात्रा सुरु गर्छौं किनकी अबको विजय यात्रा एमालेको हो ।’ 

एमालेभित्र अगाडिदेखि घुसपैठ गरेर बसेका केही नक्कली मान्छेहरुले पार्टी मजबुत भएपछि फेदमै बञ्चरो हानेकाले सरकारबाट बाहिर बस्नु परेको ओलीले बताउनुभयो । अहिले उनीहरु पिलो निचोरिए जस्तो भएको ओलीले टिप्पणी गर्नुभयो । ‘माधव कुमार नेपालले एमाले चोइटाएर पार्टी बनाएको तर नबन्दै बिग्रिसकेको छ बन्दैन त्यो पार्टी,’ उहाँले भन्नुभयो, ‘उनीहरु गएर एमालेलाई हाइसञ्चो भएको छ र एमालेबाट चोइटिएर गएपनि पार्टीलाई कुनै नोक्सान भएको छैन ।’

एमालेको सही नीति र गुमेको नेपाली भूभाग फिर्ता ल्याउने नीतिले अन्य पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरिरहेको उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हजार जिब्रा भएको शेषनागको संज्ञा दिनुभयो । ‘पुष्पकमल दाहाल दुई जिब्रे होइन, हजार जिब्रा भएका शेष नाग हुन्,’ उहाँले भन्नुभयो, ‘बिहानीदेखि रातिसम्मै उनको छिनछिनमा फरक फरक कुरा हुन्छ । त्यसखालको पार्टी हो माओवादी पार्टी हो ।’ दाहालले कहिले मान्छे मार्न लगाएका छन् कहिले जनयुद्ध भनेर मान्छे होमिदिएको अनि आफ्ना र आफ्ना परिवार, आफ्न्तका निम्ति काम गरेको ओलीको आरोप छ । दाहालको पार्टी, भ्रमको पार्टी भएको ओलीको भनाई थियो ।

‘यता फर्किदा एउटा र उता फर्किदा अर्कै अनुहार छ प्रचण्डको,’ उहाँले भन्नुभयो, ‘सडकमा एमसीसी आत्मघाती हो भन्ने नारा लगाउन लगाई दुनियाँलाई ढाँटेर सदनमा पास गर्छन् । आफूले तराईमा बसेको ६० वर्ष नाघिसकेकाले यहाँको समस्याको बारेमा जानकार रहेको ओलीको भनाई थियो । 

‘मधेसको नागरिकताको समस्या ४ वर्षदेखि प्रचण्डको पार्टीका एक जना सभापतिले प्रचण्डको निर्देशनमा रोकेर राखेका छन्,’ उहाँले भन्नुभयो, ‘तराईका नागरिकका सन्तानले नागरिकता प्राप्त गर्छ भन्दा रोकेर राख्न मिल्छ ? नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न पाउनु पर्छ ।’ गठबन्धनको सरकारले हालसम्म एउटा पनि काम गर्न नसकेको ओलीको आरोप थियो ।