मुख्य समाचार

झापाको गौरीगञ्जमा खसेको भन्दा बढी मत भेटिएपछि विवाद

- अर्जुन राजवंशी

झापाको गौरीगञ्ज गाउँपालिकाको मतगणनामा विवाद भएको छ । खसेको मतभन्दा एक सय ७३ मत बढी देखिएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले मतगणनामा आशंका व्यक्त गरेका छन् । गौरीगञ्ज वडा नं. १ को मतगणना जारी छ । सो वडामा तीन हजार ८ सय ८ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, आज बिहान सम्पन्न वडाको मतगणनामा मत संख्या ३ हजार ९ सय ८१ पुगेको भन्दै कांग्रेसका प्रतिनिधिले धाधली भएको भन्दै विरोध जनाएका हुन् । विवादका बीच मतदान अधिकृतको कार्यालयले आज बिहान ३ हजार ८ सय ४ मतको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ । सार्वजनिक मत परिणाम अनुसार वडा नं. १ को वडाध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारको मत संख्या बराबर एक हजार एक सय ८१ भएको जनाएको छ । कांग्रेसले भने आफ्ना प्रतिनिधिले हस्ताक्षर नै नगरेको मत परिणाम स्वीकार नगर्ने भन्दै विरोध जनाएको छ । गौरीगञ्जका निर्वाचन अधिकृत भेषराज कोइरालाले भने कांग्रेसले भनेजस्तो बढी मत नभएको दाबी गर्नुभयो । उहाँले मुचुल्काको डाटा र मत पेटिकाभित्र हुने मत संख्यामा फरक पर्ने कुरा सामान्य भएको बताउनुभयो ।