मुख्य समाचार

जग्गा किर्ते गरि सात करोड बराबरको ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं

जग्गा किर्ते गरि सात करोड बराबरको ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको कित्ता नं. ३४४ को  ३६१.९५ वर्गमिटर क्षेत्रफल रहेको जग्गा किर्ते गरी बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो । 

सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको पाइएको हो । शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाई, नक्कली श्रीमान समेत खडा गरि जग्गा बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । 

 घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दार्चुलाको मालिकार्जुन गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिकाका ४१ वर्षीय गणेश बहादुर खनाल र सोलुखुम्बु थुलुङ दुधकोशीका बाबुराम कार्की, काठमाडौं वनस्थलीका ४६ वर्षीय प्रेम प्रसाद खनाल र सोही स्थानकी ५८ वर्षीया ममता भनिने डासी माया श्रेष्ठलाई पक्राउ गरेको हो ।