आन्तरिक उडान रोक्ने निर्णय फिर्ता, नियमित रुपमा उडान हुने
अनिश्चितकालका लागि हवाई सेवा बन्द गर्ने चेतावनी दिएका वायु सेवा सञ्चालक संघले आफ्नो निर्णय फिर्ता लिएसँगै आन्तरिक उडानहरु नियमित सञ्चालनमा आउँदैछन् । पुर्वनिर्धारित नियमित तालिका अनुसार नै बिहान ११ बजेदेखि नियमित उडान हुने बायुसेवा कम्पनीहरुले जनाएका छन । बुद्ध एयरले ट्विट गर्दै विहान ११ वजे देखि नियमित उडान हुने जानकारी दिएको छ । यति एयरलाइन्सले पनि स्थगित आफ्ना सम्पुर्ण उडानहरु नियमित हुने जनाएको छ ।
उपत्यकाबाहिर तोकिएका आधार विमानस्थलबाट सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण क्यानले निर्देशन दिएपछि संघले उडान ठप्प पार्ने हिजो चेतावनी दिएको थियो । गृहमन्त्रालयका सचिवको समन्वयमा गएराति अबेर क्यानका पदाधिकारीसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरुले उडान नरोक्ने सहमति गरेका हुन । वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले आजबाट नियमित उडान गर्ने र आफुहरुका मागबारे पनि छलफल जारी राख्ने सहमति भएको जानकारी दिनुभयो । आफुहका मागबारे मध्यान्न १२ बजे क्यानका पदाधिकारीसँग छलफल गर्न लागिएको कडेलले जानकारी दिनुभयो ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बढ्दो चापका कारण उडान, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ लगायतको समस्या भएको ठहर गर्दै क्यानले निजी जहाजलाई बाहिरका विमानस्थलमा राख्न निर्देशन दिएको थियो । सोही निर्णयको विरोध गर्दै वायु सेवा कम्पनीहरुले उडाननै रोक्ने बताएका थिए । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्र्तगत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको सरकारले चेतावनी दिएपछि बायुसेवा सञ्चालक संघ पछि हटेको हो ।