मुख्य समाचार

सुइँखेत क्षेत्र डुबानमा, झन्डै ५ सय घर डुबान

- दीपक परियारकाठमाडौं

बर्खाको पानीले निकास नपाउँदा पोखरा–२५ को सुइँखेत क्षेत्र डुबानमा परेको छ । गएरातिदेखि परेको अबिरल वर्षापछि झन्डै ५ सय घर डुबानमा परेका हुन् । पहिला धानखेत हुने स्थानमा प्लटिङ गरेर घडेरी बनेपछि बर्खाको पानीले निकास नपाएको हो ।

 लगातारको वर्षाले सुइाखेतको चौरासी नहर बढेर बस्तीतर्फ सोझिएको थियो । वरपरका खोल्साबाट बगेर आएको पानी समेतले फाँट डुबाएको हो । डुुबानबाट सुइाखेतको म्याग्दीचोक, सुन्दरपुरीचोकका झण्डै ५ सय घर प्रभावित भएको वडाध्यक्ष मोतीप्रसाद तिमिल्सिनाले बताउनुभयो । 

उहाँका अनुसार स्थानीयलाई गएराति नै उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । लगातारको वर्षापछि सुन्दरपुरीचोकमा आएको पहिरोले दुई घरमा पूर्णरुपले क्षति पुर्‍याएको छ । स्थानीय लक्ष्मी विक र रिभना विकको घर पहिरोले पुरेको हो । अन्य १५ घरमा पहिरोका कारण आंशिक क्षति पुगेको छ ।