मुख्य समाचार

मृत्यु हुनेमा कोभिड १९ विरुद्धका खोप नलगाउने बढी

- केएफएम डेस्क

पछिल्लो पटक खोप नलगाएका व्यक्तिको मृत्यु हुने गरेको पाइएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा सह प्रवक्ता डा समिर अधिकारीले कोभिड १९ का कारण मृत्यु हुनेमा खोप लगाउँदै नलगाएका र पूर्ण मात्रा खोप नलगाएका व्यक्ति रहेको बताउनुभयो ।

पछिल्लो पटक कोभिड १९ संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा थप ६ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६ हजार ७ सय ५ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा कोभिड १९ पुष्टि भएको हो । थप ४ सय १४ जना संक्रमणमुक्त भएका छन् । मूलुकभर हाल ५ हजार ८ सय ८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सरकारले आगामी भदौ ५ गत देखि ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि ५० जिल्लामा कोभिड विरुद्धको दोश्रो चरणको खोप अभियान सञ्चालन गर्ने भएको छ ।