मुख्य समाचार

दाहाल–भट्टराई सहमति : चुनाव चिह्न 'गोलाकारभित्र हँसिया हथौडा'

काठमाडौं

माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह र घोषणा पत्र लिएर आगामी निर्वाचनमा जाने सहमति भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्षद्वय भट्टराई र महेन्द्र राय यादवबीच आज बिहान भएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एउटै घोषणा पत्र र चुनाव चिह्न प्रयोग गरेर जाने सहमति भएको नेता विश्वदिप पाण्डेले बताउनुभयो । 

नेताहरुबीच माओवादी केन्द्रले प्रयोग गर्दै आएको चुनाव चिन्ह ‘गोलाकारभित्रको हासिया हथौडा’ लाई नै प्रयोग गर्ने सहमति भएको छ । भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न ‘आँखा’ थियो । सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी जसपाबाट अलग भई छुट्टै दल बनाएका भट्टराई र अध्यक्ष दाहाल पछिल्लो समय चुनावी समिकरणबारे छलफलमै हुनुहुन्थ्यो । 

आ–आफ्नो दलमा छलफल गरी भोली बिहान बस्ने अर्काे बैठकमा लिखित सहमति गरिने नेता पाण्डेले बताउनुभयो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले भट्टराईसंगको छलफलमा गठबन्धनमा आउन आग्रह गर्नुभएको थियो ।