मुख्य समाचार

पाल्पाबाट तीर्थयात्रु बोकेर मनकामना मन्दिर आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु, ३० जना घाइते

- माधव अर्यालनविन पौडेलपाल्पा/ नवलपरासी

पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि आउँदै गरेको बस पूर्वी नवलपरासी बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार–२, मथारमा भएको दुर्घटनामा परि ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

 ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झण्डै सय मिटर तल खसेको हो । दुर्घटनाग्रस्त बस भीरमा अड्किएको र घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । भौगोलिक बिकटताको कारण उद्धारमा कठीनाई भएको तिवारीले बताउनुभयो ।

दुर्घटनामा रम्भा गाउँपालिका–१, हुागीका ४१ वर्षीया तारा बिक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका–९ की ४५ वर्षीया फुलमाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।उद्धार गरिएका घाइतेहरुलाई चितवन सामुदायिक अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

 घटनाको विस्तृत विवरण आउन बाँकी  छ ।