कैलाली १ र ३ मा नागरिक उन्मुक्तिको अग्रता
- धनगढीकैलालीको क्षेत्र नम्बर १ र ३ मा पछिल्लो मत परिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता लिएको छ । कैलाली क्षेत्र नम्बर १ मा १ हजार ५ सय २ मत गणना सकिंदा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले अग्रता कायम गर्नु भएको छ । श्रेष्ठले ६ सय ९१ मतसहित शीर्ष स्थानमा हुनुहुन्छ ।
नेपाली कांग्रेसका रामजनम चौधरीले ४ सय ११ मत सहित श्रेष्ठलाई पछ्याईरहनु भएको छ । नेकपा एमालेका तपेन्द्र बहादुर रावलले १ सय ८३ मत प्राप्त गर्नु भएको छ । कैलाली क्षेत्र नम्बर ३ मा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगा चौधरीले अग्रता बनाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार १ हजार ८ सय १० मत गणना हुँदा नागरिक उन्मुक्तिका गंगा चौधरीले ६ सय मत सहित शीर्ष स्थानमा रहनु भएको छ ।
माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले ४ सय ५०, एमालेले २ सय ५० र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमले ४ सय मत प्राप्त गर्नु भएको छ । जिल्लाका ५ वटा निर्वाचन क्षेत्र मध्ये २ र ४ को मत गणना सुरु भई सकेको छ । तर प्रारम्भिक मत गणना सार्वजनिक भने भएको छैन । क्षेत्र नम्बर ५ को मत गणना अझै सुरु हुन सकेको छैन ।
सर्वदलीय बैठक चल्दै गरेको अवस्थामा मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालको स्वास्थ्यमा अचानक गडबढी आएको थियो । मुख्य निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले मुख्य निर्वाचन अधिकृतको स्वास्थ्य रिपोर्ट आएपछि पुन: सर्वदलीय बैठेक बसेर मतगणना सुरु गरिने बताउनुभयो ।