मुख्य समाचार

कैलाली १ मा नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ विजयी

- मोहन बुडाऐरधनगढी

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ फराकिलो मतान्तर सहित निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३ सय २३ मतान्तरले पराजित गर्दै श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

निर्वाचन आयोगका अनुसार श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सदस्य चौधरीले १८ हजार ८९ मत प्राप्त गर्नुभयो ।

तेस्रो स्थानका एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार ९ सय १० मत मात्रै प्राप्त गर्नुभयो । क्षेत्र नम्बर १ मा कुल १ लाख ६७ हजार ७ सय ३ मतदाता रहेकोमा ६४ हजार ९ सय ९९ मत खसेको थियो । 

प्रदेश सभा तर्फ पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । कैलाली १ (१) तर्फ नागरिक उन्मुक्तिका कैलाश चौधरी विजयी हुनु भएको छ । उहाँले १५ हजार १ सय मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३ सय ७७ मत ल्याउनुभयो । 

कैलाली १ (२) तर्फ सोही पार्टीका लक्ष्मण चौधरीले ११ हजार ३ सय १७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री डा रण बहादुर रावल पराजित गर्नुभयो । 

रावलले ८ हजार ५३ मत प्राप्त गर्नुभयो । यसअघि कैलाली क्षेत्र नम्बर ३ को प्रनिनिधि र प्रदेश तर्फका सबै सिटमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भईसकेका छन् ।