मुख्य समाचार

३ स्थानको मात्रै मतपरिणाम आउन बाँकी

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये ३ स्थानको मात्रै मतपरिणाम आउन बाँकी छ । १ सय ६२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको अवस्थामा अब स्याङ्जा २, दोलखा र बाजुराको मतपरिणाम आउन बाँकी रहेको हो । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता बनाउनुभएको छ । उहाँले ९ हजार ६ सय १३ मत प्राप्त गर्दा एमालेकी सचिव समेत रहेकी पद्मा अर्यालले ७ हजार ४६ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ८ सय ८२ मत ल्याउनुभएको छ ।

यसैबीच विवादका कारण मतगणना रोकिएको बाजुरामा पनि मतगणना जारी छ । पछिल्लो विवरण अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ४ हजार २ सय १४ मतका साथ अग्रता बनाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मत ल्याउनुभएको छ ।

उता दोलखामा पनि गएराति देखि मतगणना शुरु भएको छ । जिल्लाका १० केन्द्रमा हिजो भएको मतदानमा आधा मात्र मत खसेको छ । कुल ८ हजार ५ सय १४ जना मतदाता रहेकोमा ४ हजार २ सय ५७ मत खसेको छ । पछिल्लो प्राप्त विवतरण अनुशार यी क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीबीच प्रतिस्पर्धा छ । माओवादी उम्मेदवार कार्की १ हजार ३ सय ५५ मतसहित शीर्ष स्थानमा रहदा एमाले उम्मेदवार शिवाकोटी ७ सय ६३ मत सहित दोस्रो स्थानमा रहनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदिश खरेलले १ सय ४ मत प्राप्त गर्नुभएको छ ।