निर्वाचन आयोगले बुझायो राष्ट्रपति समक्ष निर्वाचन प्रतिवेदन
- काठमाडौंनिर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ ।
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभयो । प्रतिनिधि सभा र प्रदेश सभातर्फ कुल ८ सय २५ जना निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले हालै सम्पन्न निर्वाचनले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्ग प्रशस्त गर्ने आधार तयार गर्नेमा आफू विश्वस्त रहेको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उहाँले निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताउनुभयो । प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फर् १ सय ६५, समानुपातिक प्रणालीतर्फ १ सय १० गरी दुई सय ७५ सांसद निर्वाचित भएका छन् । त्यस्तै, प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० तथा समानुपातिक तर्फ २ सय २० गरी पाँच सय ५० सांसद निर्वाचित भएका छन् ।
आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभामा गरी आठ सय २५ जना निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ३३ दशमलव १० प्रतिशत र प्रदेश सभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।
आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुख समक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।
सो अवसरमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडी लगायत उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।